लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा

ललितपुर – ललितपुरको लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु हुँदैछ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ्ग टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा घुमाइन्छ ।

रातो मच्छिद्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने गर्दछ । रातो मच्छिन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पाङ्ग्रालाई लुभुको भैरवका रूपमा पुजिने गरिन्छ । त्यसैले रातो मच्छिन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा रहेको छ । रातो मच्छिन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ । सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।

ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभुवासीले यो जात्रा धूमधामका साथ मनाउने गर्छन् । अष्टमीका दिन जात्रा मनाउनेले लुभुमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्दछन् । यसलाई स्थानीयले ‘सरकार पूजा’ पनि भन्ने चलन छ । जात्रा सम्पन्न नभएसम्म यस क्षेत्रका जात्रा मान्ने बासिन्दाले खेतबारी तथा निर्माण कार्य गर्न नहुने परम्परा रहेको छ।