नित्या रञ्जनालाई लण्डनको यल्लो पेन्सिल अर्वाड

काठमाण्डौ – कम्प्यूटर, मोबाइलमा रञ्जना लिपि लेख्नको लागि विकास गरिएको नित्या रञ्जना फन्टले यस बर्षको डीएण्डएडी यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको छ । बिहीवार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा टाइप एण्ड लेटिरिङ् विधामा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो ।

मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिने यसप्रकारको अवार्ड नेपालका लागि पहिलो हो । ६ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपि पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले जानकारी दिनु भयो । कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो ।

नेपालको क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी एक टाइपको सहकार्यमा नित्या रञ्जना फन्टको विकास गरिएको हो । फन्ट गएको चैत ३ गतेदेखि प्रयोगमा आएको हो । अवार्डसँगै नित्या रञ्जना फन्ट र रञ्जना लिपिले अन्तर्राष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको क्यालिजात्रा फाउण्डेशनका अध्यक्ष आनन्द कुमार महर्जनले बताउनु भयो । यसभन्दा अघि पनि नित्या रञ्जनाले कलात्मक अक्षरको लागि टीडीसी अवार्ड पाएको थियो ।