स्पेनले युरो कप फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि २–१ को जित निकाल्दै चौथोपटक युरो कपको उपाधि चुमेको हो । लगातार दुईपटक युरो कपको फाइनल पुगेको इंग्लिस टिमलाई यसपालि स्पेनले हारको चोट दियो । पछिल्लो २०२० को युरो कपमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको थियो । आज भएको फाइनल खेलमा स्पेनले निर्धारित ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा निकाल्न सफल भयो ।
पहिलो हाफ गोलरहित ०–० मा सकिएको खेलमा स्पेनले दोस्रो हाफको सुरुआतमै गोल गरेर खेलमा अग्रता लियो । ४७औं मिनेटमा निको विलियम्सले लो सटमा शानदार सट प्रहार गर्दै बललाई जाली चुमाएपछि स्पेनले जितको बाटो समातेको थियो । विलियम्सको गोलमा युवा खेलाडी लामिन यामलले असिस्ट प्रदान गरेका थिए । त्यसपछि इंग्ल्यान्ड ७३औं मिनेटमा खेलमा फर्कियो । जुड बेलिङ्घमको पासमा सब्सिच्यूट खेलाडी कोले पाल्मरले गोल गरेर खेल बराबरी बनाएका थिए ।
८६औं मिनेटमा सब्सिच्यूट खेलाडी मिकेल ओयारबजबालले गोल गरेर टिमको जित पक्का गरे । उनको गोलमा मार्क कुकुरेल्लाले असिस्ट प्रदान गरेका थिए । दोस्रो गोल खाएपछि इंग्ल्यान्ड खेलमा फर्किन सकेन । र, स्पेनले रोमाञ्चक खेलमा इंग्लिस टिमलाई २–१ ले स्तब्ध पार्दै चौथोपटक युरो कपको उपाधि चुम्न सफल भयो ।
