“भाषा रहे जाति रहन्छ” भनी आफ्नो बिचार राखी जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ ।
काठमाण्डौं भोताहितिको सिद्धिदास चोकमा भेला भई प्रभात फेरी (नसंचा उले)का साथ नगर परिक्रमा गरिएको छ । सिद्धिदास अमात्यको प्रतिमामा नेवाः अभियन्ता तथा अग्रजहरुका साथै सिद्धिदास स्मृति समाजका अध्यक्ष मल्ल के सुन्दर, बागमती प्रदेश सांसाद तथा पूर्व मन्त्री शैलेन्द्र मान बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, सिद्धिदास स्मृति समाजका सचिव दीपक तुलाधरका साथै विभिन्न गन्यमान्य ब्यक्तिहरुका तर्फबाट फूल अर्पण गरिएको थियो ।
सिद्बिदास अमात्यको जन्म जयन्तीको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा मूल सहभागीका रुपमा उच्च आदरणीय ब्यक्तित्व फणीन्द्र रत्न वज्राचार्य, सुवर्णकेशरी चित्रकारद्वयलाई सिद्धिदासको फोटो राखिएको बग्गीमा आसन ग्रहण गराइएको थियो ।
भोताहिति चोकबाट शुरु भएको प्रभातफेरी र्याली असन, केलटोल, मखन टोल, मरु, चिकंमू, लगन, ब्रम्हटोल, ह्यूमत, क्वहिति, भिन्द्यःत्वाः भई जनबहालमा पुगेर सभामा परिणत भएको हो । उक्त सभामा मच्छिन्द्र क्लबका तर्फबाट नीलकाजी शाक्यले केलटोलमा स्थापित सिद्धिदासको प्रतिमामा फूल अर्पण गर्नुभएको हो । त्यसै गरी, सिद्धिदास अमात्यको जन्म जयन्तीको अवसरमा वहाँको फोटो अंकित बेलुन सिद्धिदास स्मृति समाजका सचिव दीपक तुलाधर, नीलकाजी शाक्य र बालकृष्ण प्रजापतिले उडाउनु भएको छ । उक्त कार्यक्रममा गायक पवित्र कसाःले पनि सिद्धिदास अमात्यलाई सम्झेर जनकवि दुर्गालाल श्रेष्ठद्वार रचित प्रभात गीत सुनाउनु भएको छ । कार्यक्रममा नेपालभाषा क्षेत्रका ब्यक्तित्वहरुका साथै विभिन्न विद्यालयहरुका विद्यार्थीहरुका समेत उपस्थिति रहेको थियो ।
