आश्विन शुक्ल सप्तमीका दिन आज फूलपाती हनुमान ढोका दरवारमा भित्र्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
विहीबार हनुमानढोकाको नासल चोकमा कालो बोकाको बलीसहित तान्त्रिक पूजा गरी फुलपाती भित्र्याइएको छ । यसैबीच सुरक्षा निकायका विभिन्न गणहरुको झण्डाहरुमा मौला पूजा समेत गरिएको छ । विहीबारै सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको छ ।
हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्रकालमा रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष पनि संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।
