सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ, लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

उक्त अनुमतिअनुसार कास्की प्रहरीले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ ।

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।