गत बिहीबार मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ नेपाल भाषाको म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र क्षेत्रकी आमा भनेर चिनिने ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो।
सार्वजनिक गरिएको गीत ‘लिक्क लिक्क’ को रचना, संगीत डबल शाक्यको रहेको छ भने शाक्य र रत्नशोभा महर्जनले गाएका छन् । आराध्यालक्ष्मी र श्रीकृष्ण खड्गीको अभिनय रहेको छ भने निर्देशन राजेशमान सिंहले गरेका छन् । यसै गरि आनन्द रत्न बज्राचार्यको रचना र अनिल तुलाधरको संगीत रहेको ‘पानवती मैयाँ’ मा निशा देसारले आवाज दिएकी छिन् । आराध्यालक्ष्मीले विजयमान सिंहसँग अभिनय गर्नुका साथै म्यूजिक भिडियोको निर्देशन पनि गरेकी छिन् ।
राजकुमार मानन्धरले ‘छंगु मतिना’ गीतको रचना गरेर संगीत दिनुका साथै गाएका पनि छन् । गायनमा राजकुमारलाई निशा देसारले साथ दिएकी छन्र । यस गीतमा पनि विजयमान सिंह र आराध्यालक्ष्मीले नै अभिनय गरेका छन् भने कोरीयोग्राफी र निर्देशन पनि आराध्याकै रहेको छ ।

कार्यक्रममा गीत र म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । साथमा कलाकार, निर्देशक खड्गीकी हजुरआमा विजुलीमाया खड्गीलाई विशेष सम्मान गरिएको थियो ।वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ कलाकार नारायणदेवी प्रधान, राजमति चलचित्रकी राजमति हिसिला महर्जन, वरिष्ठ निर्देशक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायतले आआफ्ना विचार राखेका थिए ।
तीनवटै म्यूजिक भिडियाको छायाङ्कन र दृश्य सम्पादन भने सोहन मानन्धरले गरेका छन् । ‘छंगु मतिना’ को म्यूजिक भिडियो मतिन इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । ‘पानवती मैयाँ’ र ‘लिक्क लिक्क’ को म्यूजिक भिडियो पनि चाँडै नै यसै च्यानलबाटै सार्वजनिक हुने जानकारी निर्देशक, कलाकार आराध्यालक्ष्मीले जानकारी दिएकी छिन् ।
