एम्बाप्पेले छाडेकै सिजन पिएसजीले जित्यो च्याम्पियन्स लिग

ऐतिहासिक रुपमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलो पटक जितेको छ। इन्टरमिलान माथि गोल वर्षा गर्दै पिएसजीले उपाधि जितेको हो।

शनिबार राति भएको खेलमा इन्टर मिलानलाई ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो। फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १-१ गोल गरे।

हाकिमीले खेलको १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलको सुरुवातमै दबाब बनायो। दोस्रो हाफमा डुवेले ६३ औं मिनेटमा अर्को गोल गर्दा त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट टिमलाई ४-० को अवस्थामा पुर्याए। टिमका लागि सब्सटिच्युट मायुलुले ८६ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए।

लुइस इनरिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। उनले १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि जितेका हुन्।

लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीलाइ च्याम्पियन्स लिग जित्नका लागि क्लबमा अनुबन्धन गरेपनि पिएसजी सफल भएको थिएन्। तर ती सबै खेलाडीले क्लब छाडेपछि पिएसजीले च्याम्पियन्स लिग जित्न सफल भएको हो।

यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो। यसै सिजन पिएसजीले लिग वान, कोपा डे फ्रान्स र फ्रेन्च सुपर कप पनि जितेको थियो।

उसका यि उपाधिमा उस्मान डेम्बेलेले उत्कृष्ट प्ररदर्शन गरे। उनले कुल ५४ खेलमा ३५ गोल गर्दा १३ गोलका लागि एसिस्ट गरे। शनिबार राति भएको च्याम्पियन्स लिगमा पनि उनले २ गोलको उसिस्ट गरेका थिए। उनले लिग वानमा गोल्डेन बुट समेत जितेका थिए।