आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।

किम्बदन्ती अनुसार आफ्नी आमालाई बसुन्धराको ब्रतको लागि पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले बाँधेर बीच सडकमै जात्रा गरेको दिनका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन छ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन छ।

आजको दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीदेवताका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने गरिन्छ ।

आज काठमाण्डुको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।