मौलिक नाम संरक्षणमा महानगर सक्रिय, थप ८ वडामा अध्ययन हुने

काठमाडौँ, काठमाडौँ महानगरपालिका ले सहरको भौतिक पूर्वाधारसँगै सांस्कृतिक पहिचान जोगाउने अभियानलाई नयाँ आयाम दिएको छ। महानगरले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम पहिचान गरी अभिलेखीकरण गरेको छ । यो अभियानलाई ‘नाममार्फत पहिचान संरक्षण’ पहलका रूपमा अघि बढाइएको बताइएको छ।

सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० मूल र ७९ सहायक नाम यकिन गरिएको हो। अब तेस्रो चरणअन्तर्गत थप ८ वटा वडामा अध्ययन विस्तार गरिने भएको छ। वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का टोल, बस्ती तथा ऐतिहासिक स्थानहरूको मौलिक नाम खोजी र अभिलेखीकरण गरिनेछ।

सम्झौता कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले नाम केवल चिनाउने शब्द नभई इतिहास, संस्कृति र सभ्यताको दस्तावेज भएको बताइन्। उनका अनुसार सहरको मौलिक पहिचान जोगाउन नामहरूको पुनःस्थापना अपरिहार्य छ। उनले परिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने र सहरको सौन्दर्यमा असर नपर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिइन्।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सायमीले एउटै स्थानमा फरक–फरक नाम प्रयोग गर्दा इतिहास पुनःस्थापना कठिन हुने उल्लेख गर्दै प्राचीन र मौलिक नामलाई प्राथमिकता दिन आग्रह गरे। उनका अनुसार अध्ययनबाट प्राप्त तथ्यलाई लिखित प्रमाणमा आधारित गरी स्थानीय समुदायको अपनत्वसहित स्थापित गरिनुपर्छ।

विभागका अनुसार पहिलो चरणमा वडा नं. ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं. ८, १७, १९, २० र २५ मा अध्ययन सम्पन्न भएको थियो। अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका टोल, बहाल, बही, मठ, मन्दिर, धारा, पाटी र सत्तलहरूको प्राचीन नाम पहिचान गरिएको हो।

उदाहरणका रूपमा, वडा नं. ५ हाँडीगाउँको प्राचीन नाम ‘नरः’, वडा नं. ६ बौद्धको ‘खस्योरः/खास्ती’, वडा नं. ७ चाबहिलको ‘चावहीः’, वडा नं. १८ नरदेवीको ‘ङेतः’ र वडा नं. २४ मखनको ‘मखं’ रहेको छ। यस्तै, वडा नं. १७ धोबीचौरको ‘येँपिख्यः’, वडा नं. २० भीमसेनस्थानको ‘तव’ र वडा नं. २५ मासङ्गल्लीको ‘मसां गल्ली’ नाम पुष्टि गरिएको छ।

महानगरको यो पहललाई विज्ञहरूले सहरको सांस्कृतिक नक्सा पुनःनिर्माण गर्ने प्रयासका रूपमा लिएका छन्। तीव्र सहरीकरणको दबाबबीच हराउँदै गएका मौलिक नामहरूको पुनःस्थापनाले काठमाडौँको ऐतिहासिक स्मृतिलाई भावी पुस्तासम्म जोगाउन मद्दत पुग्ने विश्वास गरिएको छ।