काठमाण्डौ – पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को निधन भएको छ । उहाँको हिजो ७० वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
कास्कीको रुपा गाउँपालिका ५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो । पङ्गेनीको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् ।
