टोखाको पाँचदिने विस्का नखः सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको काठमाण्डौको टोखामा मनाईंने विस्का नखः हिजो सम्पन्न भएको छ । चैत मसान्तदेखि सुरु भएको जात्रा सम्पन्न भएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई त्यसै दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ को हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । त्यसैदिन रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाइन्छ । रातभर गुठीयार र विभिन्न खलःहरू बसेर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो ।

वैशाख ४ गते अर्थात् जात्राको अन्तिम दिन हिजो बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । गछेटोलमा बिसाएको रथलाई विधिवत् रुपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आ–आफ्नो देवालयमा भित्र्याउने चलन छ । ऐतिहासिक विस्का जात्राको अवसरमा हिजो टोखा नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।