काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा गथांमुगः चःर्हे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । उपत्यकामा रहेका नेवा:समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर राक्षसलाई जलाउने परम्परा रहेको छ ।
घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवा:समुदायले भने गठेमङ्गल पर्वका रुपमा समेत मनाउने परम्परा रहेको छ ।मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।
अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाइन्छ । यसरी परम्परा देखी नै अश्लिल शब्दहरूको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।
परापूर्व कालमा दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजै बाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।
परापूर्व कालमा नेपालमा गठेमङ्गल नाम गरेको एउटा राक्षस बस्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सधैं चिन्तित रहन्थ्यो । गठेमङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो । यसपछि गठेमङ्गल राक्षस घण्टाकर्ण नामले चिनिन थाल्यो । यो राक्षसले सुनलाई भन्दा फलाम र धनी मगन्तेलाई मन पराउँथ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित पैसा उठाउने गर्दथ्यो ।
पैसा नदिने मानिसलाई मारेर मासुु खान्थ्यो, महिलालाई बलात्कार गर्दथ्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो ।
घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्यो । भ्यागुतो पनि घण्टाकर्णको आतङ्कबाट पीडित बनेको थियो । भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो ।
उसले आफ्नो विशाल शरीर बाहिर निकाल्न सकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षस घण्टकर्ण गठेमंगलबाट मानव जातिले मुक्ति पाएको उक्त दिनलाई सम्झना गर्दै उपत्यकाका नेवार समुदायले धण्टकर्ण गठेमंगल मनाउने गर्दै आएका छन।
