अमेरिका, नोभेम्बर २१, २०२६। अमेरिकाको वासिङ्टन डीसी महानगर क्षेत्रमा सन् १९९१ मा स्थापना भएको नेपालबाहिरको पहिलो नेवा: संस्था नेपा पासा पुचः अमेरिकायेको (NPPA) ३५औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को नयाँ वर्ष विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार मेरिल्याण्ड राज्यको गेथर्सबर्गस्थित शेडी ग्रोभ मिडिल स्कुलमा आयोजित कार्यक्रम दिउँसो करिब २ बजे भगवान् गणेशको पूजाआराधनाबाट सुरु भएको थियो। त्यसपछि नेपाल संवत् का प्रवर्तक शंखधर साख्वाःको प्रतिमासहित परम्परागत धिमे बाजा बजाउँदै सांस्कृतिक र्याली निकालिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट डेलिसी सहभागी भएका थिए। त्यसैगरी, वासिङ्टन डीसीस्थित नेपाली दूतावासकी प्रतिनिधि अरुणा घिसिङ, वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष मनोहरलाल श्रेष्ठ तथा वातावरणविद् डा. शाङ्ग्रिला जोशीले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय कलाकार तथा चर्चित कलाकारहरूले विभिन्न नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। लास भेगास, नेभाडाबाट विशेष रूपमा आएका लोकप्रिय पप गायक राम श्रेष्ठको प्रत्यक्ष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा सहभागीहरूले नेवाः परम्परागत भोज (नेवाः भ्वय्) को समेत भरपूर आनन्द लिएका थिए।
परम्परागत नेवाः झो भ्वय् तथा आपसी भेटघाट, सांस्कृतिक प्रस्तुति र रमाइलो वातावरणबीच राति करिब १० बजे कार्यक्रम सम्पन्न भएको थियो। नेपाल संवत् ११४७ को स्वागतसँगै संस्थाको ३५ वर्षे सांस्कृतिक यात्रालाई उत्सवका रूपमा मनाइएको यस कार्यक्रमले अमेरिकामा नेवाः भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले पुर्याउँदै आएको योगदानलाई पुनः उजागर गरेको छ।
Compose
Write to Tuladhar Bigen
