आइपिएल: गुजरात हारेसँगै क्वालिफायर दौड रोमाञ्चक

इन्डियन प्रिमियर लिग (आइपिएल)मा अब लिग चरणका ६ खेल बाँकी छन्। यस्तोमा प्लेअफ पुग्ने सबै ४ टिमको तय भइसकेको छ। तर क्वालिफायर खेल्ने दुई टिमको टुंगो लाग्न सकेको छैन्।

बिहीबार राति भएको खेलमा शीर्ष स्थानको गुजरातलाई लखनउले हराइदिएको छ। योसँगै गुजरातको क्वालिफायर खेल्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।

अब गुजरातले चेन्नईविरुद्ध अन्तिम खेल खेल्न बाँकी छ। यस्तोमा अब उसले अन्तिम खेल जितेपनि बैंगलोर र पञ्जाबको नतिजाको समेत प्रतीक्षा गर्नु पर्नेछ। यी दुवै टिमले समान २-२ खेल खेल्न बाँकी छ र दुवैको १७-१७ अङ्क रहेको छ।

बैंगलोरले आज सनराइजर्स हैदराबाद र अन्तिम खेलमा लखनउसँग खेल्दा पञ्जाबले दिल्ली र मुम्बइसँग खेल्नु पर्नेछ। दुवै टोलीले आफ्ना बाँकी दुवै खेल जितेमा क्वालिफायर खेल्ने पक्का हुनेछ। तर दुईमध्ये एक खेल हारेमा र गुजरातले चेन्नइलाई हराएमा भने गुजरातको पनि शीर्ष २ को अपेक्षा बाँकी रहने छ।

अहिले अङ्क तालिकामा गुजरात १३ खेलबाट १८ अङ्क बनाएर शीर्ष स्थानमा छ। १२ खेलबाट आरसीबीको १७ अङ्क हुँदा पञ्जाबको पनि समान खेलबाट १७ अङ्कनै छ। १३ खेल खेलेको मुम्बईको भने १६ अङ्क रहेको छ। मुम्बइलाई भने अन्तिम खेलमा पञ्जाबलाई हराएमा र गुजरातलाई चेन्नईले हराएमा भने क्वालिफायर पुग्ने सम्भावना रहने छ।

अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ स ३५ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि मिचेल मार्सले १ सय १७ रनको सानदार शतकीय इनिङ खेल्दा निकोलस पुरन ५६ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे। त्यस्तै एइडन माक्रमले ३६ रन बनाउँदा ऋषभ पन्त १६ रनमा अविजित रहे।

२ सय ३६ रनको उच्च लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो। उसका लागि साहरुख खानले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा शुभमन गिलले ३५ तथा जोस बटलरले ३३ रन बनाए।

त्यस्तै शार्फन रुथफोर्डले ३८ रन बनाएका थिए। प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दै छन्।