नेपालभाषा साहित्य क्षेत्रमा सक्रिय भइरहेको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यस यस क्षेत्रका अग्रज साहित्यकारहरुलाई भेट्ने अभियान अगाडि बढाइएको छ । विशेष गरी घरबाट निस्कन असमर्थ हुनुभएका जेष्ठ साहित्यकारहरुलाई वहाँको घरमै पुगी भेट्नुका साथै अन्तरङ्ग कुरा सुन्ने र एकेडेमीको क्रियाकलापका बारेमा जानकारी दिने कार्य भएको कुरा एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यले बताउनु भयो ।
एकेडेमीका चान्सलर मल्ल के सुन्दरले यसरी अग्रज साहित्यकारलाई भेट्ने कार्यले वहाँहरुको हृदयमा उर्जा थप्ने विश्वास ब्यक्त गर्नुभयो भने यसै क्रममा वहाँहरुलाई केही समस्या भए सुल्झाउने तथा एकेडेमीको महलमा पाइला चाल्ने कुरा बताउनु भयो । यसरी अग्रज साहित्यकार भेट्ने अभियान अन्तर्गत गतः शनिबार जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई भेट्ने कार्य भएको हो ।
एकेडेमीका चान्सलर मल्लका साथमा भाइस चान्सलर पुष्पराज राजकर्णिकार, सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्य, सह सचिव राजित बहादुर श्रेष्ठ लगायत प्राज्ञ सदस्यहरु विजय रत्न असंबरे, शाक्य सुरेन, तुलसि साय्मि, विद्या चित्रकार, रिता महर्जन, निर्मल बज्राचार्यहरु पुग्नु भएका छन् । आफू अस्वस्थ भई घरमै रहनु भएका जनकवि श्रेष्ठले नेपालभाषाको एक प्राज्ञिक संस्था आई भेट्न आएको देखेर मन निकै प्रफुल्ल भएको भनी आभार ब्यक्त गर्नुभयो भने आख्यानकार साय्मिले आफूप्रति एकेडेमीबाट देखाएको सदाशयताको प्रशंसा गर्नुभयो ।
यसरी अग्रज साहित्यकार भेट्ने कार्यलाई राम्रो प्रयास हो भन्नु भयो । एकेडेमीको आयोजनामा अग्रज सर्जकहरुलाई सम्मानको रुपमा बर्षेनि सर्जक र सिर्जना कार्यक्रम गर्दै आइरहेको छ भने आज सम्ममा जनकवि दुर्गालाल श्रेष्ठ, आख्यानकार मथुरा साय्मि, कवि योगेन्द्र प्रधान र साहित्यकार भूषणप्रसाद श्रेष्ठको कार्यक्रम आयोजना गरिसकेको छ।
