नेवा: समुदायको दश बुँदे अपिलको पूर्ण पाठ

नेवाः न्ह्यलुवाः ग्वाहालि पुचःको आयोजनामा विहीबार इतु‌बहाल, काठमाण्डौंमा भएको संयुक्त नेवार भेलाले आगामी चिल्लागाः दुतिया, बिहीबार (फागुन २१ गते) हुने आम निर्वाचनलाई लिएर गरिएको छ ।

उक्त अपिलको पूर्ण पाठ यस प्रकार छ–

ने.सं. ११४६ चिल्लाथ्वः दुतिया, बिहीबार (२०८२ फागुन ७ गते) का दिन विभिन्न संघ संस्था, समूहको आयोजनामा काठमाण्डौं इतु‌ंबहालमा भएको नेवार भेलाबाट अनुमोदित फागुन २१ को आम निर्वाचनका सन्दर्भमा नेवार समुदायकको सार्वजनिक अपिल ने.सं. ११४५ यंलागाः १ व २ (वि.सं. २०८२ भदौ २३ व २४ गते) भएको अकल्पनीय जेनजी आन्दोलनका कारणबाट हुन गइरहेको चिल्लागाः दुतिया, विहीबार (फागुन २१ गते) को प्रतिनिधि सभाको निर्वाचन हाम्रो संघारमै आइपुगेको छ । नियमित निर्वाचन भन्दा अगाडि हुनलागेको यस निर्वाचनमा भाग लिनका निमित्त सबै राजनैतिक दलहरु सक्रिय भइसकेका छन् । यस चुनावमा नेवार भावना र नेवार मुद्दामा सकरात्मक बिचार राख्ने उम्मेदवार उठाउने सबै पार्टीलाई धन्यबाद ज्ञापन गर्दछौं । नेवार मुद्दा उठाएर स्वतन्त्र उम्मेदवारी दिनुभएका नेवार उम्मेदवारहरुलाई पनि शुभकामना अर्पण गर्दछौं । नेवार बाहुल्य क्षेत्रमा नेवार उम्मेदवार नउठाएको सन्दर्भमा भने हामीले गम्भीर ध्यानाकर्षण गरेका छौं । यस क्रममा उम्मेदवारी दिनुभएका सम्पूर्ण उम्मेदवार र वहाँहरु आवद्ध राजनैतिक दलहरुका ध्यानाकर्षणका लागि नेवार सरोकार भएका मुद्दाका सवालमा इमान्दारी पूर्वक सशक्त प्रतिवद्धता आओस भन्ने हेतुले यस सार्वजनिक अपिल जारी गरेका छौं ।

१) नेवार लयायत देशका सम्पूर्ण उत्पीडित समुदायका मागलाई सम्बोधन गर्न राज्य पुनर्संरचना गरी लागू भएका संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्षता, गणतन्त्रका संवैधानिक ब्यवस्थालाई अझ सबल बनाउँदै लग्नु पर्दछ ।

२) भौतिक विकास, गैरन्यायिक सडक विस्तार वा खोला मापदण्ड आदि कुनै पनि नाममा उपत्यका भित्र रहेका स्थानीय नेवारहरुका भूमि अतिक्रमण गर्ने कार्य सधैँका लागि बन्द हुनु पर्दछ ।

३) नेवार ऐतिहासिक क्षेत्रमा कुनै पनि प्रकारका परिवर्तन वा विकासका नाममा हुने कुनै पनि आयोजनामा स्थानीय समुदायको पूर्व स्वीकृति (Free Prior and Informed Consent-FPIC) लिएर मात्र कार्य गर्नु पर्दछ ।

४) मातृभाषाबाट शिक्षा दिने नीति लागू हुनुपर्दछ । उपत्यका नेवारहरुका आदिभूमि भएकाले उपत्यकाका शैक्षिक संस्थामा नेपालभाषाबाट पढाउने ब्यवस्था हुनु पर्दछ । यसका निमित्त पाठ्यक्रम, पाठ्य पुस्तक, र शिक्षक दरवन्दीको ब्यवस्था हुनु पर्दछ ।

५) नेवारहरुले परम्परादेखि सञ्चालन गर्दै आएका संस्कृति, सम्पदा र जात्रापर्व सञ्चालनका निमित्त राज्यबाट नियमित बजेटको ब्यवस्था हुनुपर्दछ ।

६) नेवारहरुका गुठीगानालाई भूमिसँग जोडेर ब्यवस्थापन गर्न राज्यको नीति संशोधन हुनु पर्दछ ।नेवारहरुका प्रथाजन्य कानूनलाई राज्यस्तरले मान्यता दिने प्रत्याभूति हुनुपर्दछ ।

७) उपत्यका भित्रका उद्योग, ब्यवसाय आदि जस्ता क्षेत्रमा राष्ट्रिय पूँजीपति नेवार ब्यवसायीलाई विशेष संरक्षणको नीति अंगाल्नु पर्दछ । रोजगारीका क्षेत्रमा स्थानीय नेवार आदिवासीलाई प्राथमिकता दिनु पर्दछ ।

८) संविधानमा भएका ब्यवस्था बमोजिम (धारा ६५–५) नेवारहरुका ऐतिहासिक बस्तिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गरी त्यहाँ भित्र रहेका भूमि, भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण गरिनु पर्दछ ।

९) अगाडि आइरहेको आमचुनावका सन्दर्भमा राजनैतिक दल र उम्मेदवारहरुका ध्यानाकर्षण गर्दै कुनै पनि नेवार संघ संस्था वा समूहबाट प्रस्तुत गरिने नेवार सरोकारका मुद्दाप्रति एक्यवद्धता प्रकट गर्दै त्यसलाई यथोचित सम्बोधन गर्न अनुरोध गर्दछौं ।

१०) चुनावमा भोट माग्न हाम्रा घर घरमा आउनुहुने उम्मेदवारहरुलाई यस सवालमा प्रतिवद्धताको माग गर्न र वहाँहरुका नीति, विचार र प्रतिवद्धता नेवार सरोकारप्रति सकरात्मक छ छैन हेरेर मात्र मतदान गर्न सम्पूर्ण नेवारका साथै नेवार सरोकारप्रति सकारात्मक बिचार राख्नुहुने मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछौं ।