नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँको आयोजनामा आगामी शुक्रबार काठमाडौँमा पहिलोपटक ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागको समन्वय र सहकार्यमा महानगर क्षेत्रभित्र सञ्चालन भइरहेका संस्थागत तथा सामुदायिक विद्यालयका स्काउटहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्थानीय स्काउट कार्यालय काठमाडौँका प्रमुख आयुक्त रञ्जन लाल श्रेष्ठका अनुसार प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत ६०० जना स्काउट छात्र/छात्राहरू सहभागी हुनेछन्। विभिन्न संस्थाका सहयोगी र आयोजकहरू गरी कुल ८३० भन्दा बढीको सक्रिय सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य मूर्त-अमूर्त सम्पदाहरूको पहिचान गराउने, भित्री चोक र गल्लीमा रहेका सम्पदाहरूको सांस्कृतिक महत्त्व बुझाउने तथा सम्पदा प्रवर्द्धन र संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवार बनाउनु रहेको छ।
प्रतियोगिता आगामी २०८३ जेठ २९ गते शुक्रबार बिहान ७:०० बजे कुमारी घर डबलीमा भेला भई ७:३० बजे उद्घाटन गरिने तालिका रहेको छ। करिब ७ किलोमिटर दूरीको यो पैदल यात्रा बेलुका ५ ३० बजे समापन हुनेछ।
पदयात्राको क्रममा प्रतियोगीहरूले काठमाडौँका विभिन्न ऐतिहासिक र सांस्कृतिक स्थलहरूको परिक्रमा गर्नेछन्। यस यात्रामा ७ वटा मुख्य बुथ (स्टेशन) हरू रहने जनाइएको छ ।
यो प्रतियोगिताले काठमाडौँको भित्री सहरका ऐतिहासिक गल्ली र सम्पदाहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ। यस प्रतियोगिताका संयोजक स्थानीय स्काउट काठमाडौँका स्थानीय सुशासन स्रोत विकास तथा बित्त आयुक्त जय प्रताप आले मगर हुनुहुन्छ।
