बैतडीमा जीप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

काठमाडौं – बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

चालकसहित १२ जना चढेको जीपमा रहेका अरु पाँच जना सकुशल छन् । उनीहरुले हाम फालेर ज्यान जोगाएका हुन् । चालक फरार रहेका छन् ।

दुर्घटनास्थलमा खाेजी तथा उद्धारको काम भैरहेको छ ।