छत्रपाटी निःशुल्क चिकित्सालयको सञ्चालक समिति निर्विरोध निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठ

काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचित हुनेहरुमा डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव मानन्धर उपाध्यक्ष कृष्टिना श्रेष्ठ महासचिव, जगदीश माली सचिव, लहना श्रेष्ठ कोषाध्यक्ष, कृष्ण प्रसाद मानन्धर सह–कोषाध्यक्ष तथा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल.चन्द्र मानन्धर कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।

हिजो नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिद्धारा निर्विरोध घोषणा गरिएका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । २०१३ सालमा स्थापना भएयता क्षत्रपाटी निःशुल्क चिकित्सालयमा निर्विरोध कार्य समिति चयन भएको यो पहिलो पटक हो ।

प्रमाणपत्र वितरण कार्यक्रमपछि सम्बोधन गर्दै डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन् । साथै  काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालय आगामी दिनमा राष्ट्रिय अस्पतालको रुपमा परिचय बनाउने बताउँदै अस्पतालले पुर्याउँदै आएको गुणस्तरीय स्वास्थ सेवाबाट शहरी क्षेत्रका जनताले राम्रो लाभ पाएको बताए ।