लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा असोज ११ गते प्रतियोगिता आयोजना हुने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वनालाई २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा वरिष्ठ कलाकार व्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगीहरुले आफ्नो गीतको रकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाबाट अडिशन राउण्डमा प्रस्तुत गरेर छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी गराइने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम छ । कार्यक्रमको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
