काठमाडौं। वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) ले रसुवाका बाढी प्रभावित ३८ परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल संवत् ११४६ कौलागा सप्तमी (२०८३ कार्तिक १५ गते) आइतबार डब्लुएनओले नेपाल च्याप्टरको समन्वय तथा व्यवस्थापनमा दोस्रो चरणअन्तर्गत रसुवाका बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
राहत वितरण कार्यक्रममा डब्लुएनओका कार्यवाहक अध्यक्ष समीर महर्जन, वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका अध्यक्ष रमेशमान मुनिकार, उपाध्यक्षद्वय सुरेन्द्र भक्त श्रेष्ठ (नेपाल) र वीरेन्द्र नकर्मी (दुबई), पर्यटन सल्लाहकार निरोज कर्माचार्य, सृजना नेवाः नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष राधेश्याम त्वायनाबासुलगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बाढीबाट प्रभावित परिवारले भोग्नुपरेको दुःख र कठिन परिस्थितिमा केही भए पनि राहत पुर्याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। यस मानवीय सहयोगले प्रभावित परिवारलाई राहतसँगै थप हौसला र आत्मविश्वास प्रदान गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
दुःखमा साथ दिनु नै मानवताको वास्तविक पहिचान भएको उल्लेख गर्दै डब्लुएनओले सहकार्य र एकताको भावनालाई आत्मसात् गरी आगामी दिनमा पनि मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, राहत अभियान सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ।
