काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ ।
जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उहाँले बताउनु भयो ।
आश्विन शुक्ल चौँथीका दिन लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
