शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

काठमाण्डौ – आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज विहान टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पणसहित स्मृति सभा गरेर शहीद सप्ताह शुरु भएको हो।

राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो