विश्वकप लिग २- घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार (आज) विश्वकप लिग-२ को जारी सिरिजको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै छ।

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सिरिजका अघिल्ला सबै ३ खेल गुमाउन पुग्दा विश्वकप छनोटमा शीर्ष चारमा रहेर छनोट हुने सम्भावना कमजोर बनेको छ। कम्तिमा नेपाल यो सिरिजमा शान्तवना जितसँगै महत्वपूर्ण २ अंकको प्रतिक्षामा रहेको छ।

नेपाल जारी सिरिजमा नामिबियासँगको दुवै खेल गुमाउँदा नेदरल्यान्ड्ससँग अर्को एक खेलमा हार भोगेको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै नामिबियासँगको दोस्रो तथा अन्तिम खेलको अन्तिम बलमा नेपाल ३ रनले स्तब्ध बनेको थियो।

अंक तालिकामा नेपाल अहिले ३१ खेलबाट ११ जित र १८ हार सहित २४ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ। त्यस्तै नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।