‘जय लाखे’को कमाइको ५० प्रतिशत विपद् उद्धार कोषमा दिने निर्देशक संयुक्त श्रेष्ठको घोषणा

नेपाली मौलिक संस्कृति, लोकविश्वास र लाखे परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘जय लाखे’ ले आफ्नो आम्दानीको ५० प्रतिशत रकम दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ।

लन्डनमा बस्दै आएका चलचित्र निर्देशक संयुक्त श्रेष्ठले चलचित्रको सम्पूर्ण कमाइको ५० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार करिब नौ वर्षअघि ‘जय लाखे’को गीत रचना गर्ने क्रममा २०७२ सालको विनाशकारी भूकम्पको घाउ अझै ताजा थियो। त्यही परिवेशमा चलचित्रको कथा, लाखेको लोकविश्वास र विपद्का बेला मानिसले देखाउने साहसलाई जोडेर काम अघि बढाइएको उनले बताएका छन्।

लोकविश्वासमा लाखे विनाशकारी शक्तिबाट रक्षक बनेको पात्रका रूपमा स्थापित छन्। आपत्–विपत्मा आफ्नो अलौकिक शक्तिको प्रयोग गरी मानवजातिको कल्याण गर्ने जनश्रुति रहेको उल्लेख गर्दै श्रेष्ठले लोकविश्वास विज्ञानभन्दा फरक भए पनि यसले पुस्तौँदेखि मानिसलाई मानसिक बल र चुनौती सामना गर्ने प्रेरणा दिँदै आएको बताएका छन्।

‘हामीले करोडौँको व्यापार गर्ने दाबीभन्दा नेपाली साहस, विश्वास र परोपकारको इतिहासलाई कथामार्फत चिनाउने प्रयास गरेका छौँ,’ श्रेष्ठको भनाइ छ।

‘यान्तरकला’को ब्यानरमा निर्माण भएका चलचित्रले मनोरञ्जनसँगै सामाजिक तथा सांस्कृतिक विषयलाई प्राथमिकता दिँदै आएको निर्माण पक्षको दाबी छ। यसअघि २०७३ सालमा निर्माण गरिएको नेपालको पहिलो एनिमेसन चलचित्र ‘शंखधर’ ले आफ्नो आम्दानीको ५० प्रतिशत रकम दृष्टिविहीन समुदायलाई सहयोग गरेको पनि श्रेष्ठले स्मरण गरेका छन्।

यसैबीच ‘जय लाखे’को प्रदर्शन लन्डन र काठमाडौंमा हुने भएको छ। लन्डनको उलविचस्थित ट्रामशेड हलमा सेप्टेम्बर ६ शनिबार साँझ ६ बजे नेपाली भाषामा चलचित्र प्रदर्शन गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।

काठमाडौंको रञ्जना हलमा भने भदौ २७ गते शनिबार दिउँसो १२ बजे नेपाली भाषामा र १ः३० बजे नेपालभाषामा चलचित्र प्रदर्शन हुने जनाइएको छ।

चलचित्रले नेपाली संस्कृति र लोकविश्वासलाई प्रस्तुत गर्नुका साथै प्रदर्शनबाट प्राप्त रकमको एक हिस्सा विपद् प्रभावितका लागि सहयोग गर्ने उद्देश्य लिएको निर्देशक श्रेष्ठले बताएका छन्।