पासो थापेर नियन्त्रणमा लिइयो कीर्तिपुर क्षेत्रमा आतंक मच्चाउने चितुवालाई

काठमाडौं – एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।

विश्वविद्यालयको बाटो हुँदै बिहान–बेलुका आवतजावत गर्ने गाडीसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गएकाे चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत चितुवाले आक्रमण गरेको थियो । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग चितुवा ठाेक्किएकाे थियो ।

त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि नागरिक र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । तर चितुवा पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघिदेखि फेरि पासो थापिएको थियाे ।

नजिकको जङ्गल, त्रिवि परिसरका विभिन्न ठाउँमा रहेका झाडीका कारण चितुवा आउने गरेकाे प्राचार्य राईले बताउनुभयो ।  ‘यहाँ छाडा छोडिएका बहर र कुकुरकाे सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ’, उहाँको भनाइ छ ।

पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहबरमा बुझाइने राईले बताउनु भयाे । चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फाँड्ने र मानिसको आवतजावत हुने सबै ठाउँमा बत्ती जडान गर्ने कार्य भइरहेको छ ।

फोटोः विरेन्द्र शाक्य