रातो मच्छिन्द्रनाथको रथजात्रा आज सुरु हुँदै

ललितपुर – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ जात्रा आज सुरु हुँदैछ। उपत्यकाकै सबैभन्दा लामो जात्रा सोमबार सुरु हुन लागेको हो। ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा राखिएको रातो माछिन्द्रनाथमा हिजो विशेष पूजा गरिएको थियो।

आज दिउँसाे ४ बजे पछि पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई बाजागाजासहित तानेर गाबाहाल पुर्‍याइँदैछ।  रथ तान्ने क्रममा गुरुज्यूको पल्टनले बिगुल बजाएर हर्षबढाइँ गर्ने चलन छ।

रथजात्राका लागि त्रयोदश भुवनको प्रतीकका रूपमा १३ तल्ला र ३२ लक्षणको हिसाबले बत्तीस हातको रथ बेत र काठ प्रयोग गरी पुल्चोकमा तयार पारिएको छ।

धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी तरुन् भन्ने कामना गर्दै मछिन्द्रनाथको रथ अगाडि गाईदान गरिएको थियो।

जात्राका क्रममा रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि तानिन्छ। आज मीननाथलाई चक्रबहीलमा बनाएकाे रथमा रथाराेहण गरेर  पुल्चोकसम्म तानेर पुर्‍याइनेछ। त्यसपछि मीननाथको रथलाई अघिअघि लगाएर राताे मच्छिन्द्रनाथको रथलाई गाःबहालसम्म तान्ने चलन छ। आजको जात्रा रथ गाःबहालमा पुगेपछि सकिनेछ।

रातो मच्छिन्द्रनाथको रथजात्राका क्रममा रथलाई महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्‍याइन्छ।

लगनखेलबाट इतिटोलहुदै  कुमारीपाटीबाट जावालाखेल पुगेपछि भोटो देखाएर मूर्तिलाई खटमा राखी बुङगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।