काठमाडौं – काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्।
असार १ गतेबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।
श्रेष्ठका अनुसार महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइनेछ।
बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ। कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।
