आज असनमा टिका ‘असं चालं’, पायाः जात्रा मनायो

असनका उदाय समुदायमा आज टिका थापिँदैछ । नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापियो।

दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको भने यो कार्य एकादशीको दिनमा गर्ने गर्दछन् । आजको दिनलाई असं चालं पनि भनिन्छ ।

नेवाः समुदायका तुलाधर, स्थापित, कंसाकार, शिलाकार, शिख्राकार थरकालाई उदाय भन्ने गरिन्छ । असनका उदायहरुको दशमीको दिनमा खालि बसेर एकादशीमा विसर्जन पूजा गर्दै मान्यवरको हातबाट टिका र जमरा थाप्ने गर्दछन् ।

व्यापारीको रुपमा चिनिएका उदाय समुदायको कुनै बेलामा दशमीको दिनमा व्यापार व्यवसायमै व्यस्त हुँदा टिका थाप्न नै बिर्सेकाले भोलिपल्ट मात्रै टिका थापेको र त्यसबेलादेखि एकादशीको दिनमा टिका थाप्ने चलन शुरु भएको किम्बदन्ती रहि आएको छ ।

त्यस्तै अन्य समुदायको पायाःमा जेष्ठ नागरिक जात्राको मुख्य व्यक्ति अथवा थकालीको रुपमा खड्गसहित निस्किने गर्छन् भने असं पायाःमा सबैभन्दा कान्छो व्यक्तिले जात्राको नेतृत्व गर्छन् ।

पायाः निकाल्ने क्रममा असन चोकमा अवस्थित अन्नपूर्ण मन्दिरको पछाडी रहेको बकुननिको आगम घरबाट खड्गसहित पायाः निकालिने गरिन्छ । यसरी खड्गसहित निस्किएका व्यक्तिहरुले असनका परिक्रमा गरी फेरी आगम घरमै पुग्ने गरिन्छ ।

आगम घर पुगेर दानव वा असुरको प्रतिकको रुपमा कुभिन्डोलाई खड्गले मार हान्ने गरिन्छ । यससँगै पायाः जात्रा सम्पन्न हुने गर्दछ ।