डब्ल्यूएनओले मनायो गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्ति

विश्वभर रहेका नेवार समुदायलाई  एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको  वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले नेपालभाषाका गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्तिको अवसरमा विचारगोष्ठी कार्यक्रम आयोजना गरेको छ। 

डब्ल्यूएनओका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले पं निष्ठानन्दको तस्विरमा कम्प्यूटर प्रोग्रामको माध्यमबाट पानसमा दीपप्रज्वलन गरेर शुरू  भएको विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा  इँलोह प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्यले  उहाँको प्रमुख कृति ललितविस्तरको बारेमा चर्चा गर्ने क्रममा यो कृति टाइवानबाट मात्रै २८ हजार प्रति प्रकाशित भएको बताउनु भयो।

त्यस्तै परिवारका तर्फबाट बोल्दै नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यले निष्ठानन्दले ललितविस्तरसहित अरू पनि धेरै नै कृतिहरू लेख्नु भएको भन्दै कृतिको प्रशंसा मात्र होइन अध्ययन मनन गर्नु पनि जरूरी भएको बताउनु भयो।

लोककवि एवमं डब्ल्यूएनओका साहित्यिक एम्बेसडर राजभाइ जकःमिले नेपालभाषाको पुनर्जागरणका लागि उल्लेखनीय भूमिका खेलेकोले महारथीको संज्ञा दिदै उहाँका बारेमा लेखिएको कविता वाचन गर्नु भयो।

पत्रकार सिल्भिया राजोपाध्यायले संचालन गर्नु भएको कार्यक्रममा डब्ल्यूएनओका केन्द्रीय सचिव लुमु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने भर्चुयल रूपमा भएको कार्यक्रममा विभिन्न देशमा रहेका नेवार व्यक्तित्वहरूको उपस्थिति थियो।

नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्येका एक पं निष्ठानन्दको जन्म नेसं ९७८ (वि.सं. १९१३) थिंलाथ्व चौथीका दिन ओमबहालमा भएको थियो भने उहाँले नेपालमा पहिलोपटक वि.सं. १९६७-६८ तिर हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गर्नुभएको थियो। त्यसैले उहाँलाई प्रेस जगतका अग्रणीका रूपमा पनि लिइन्छ।