भूकम्पले उत्तर–पश्चिम चीनमा एक सयभन्दा धेरैको मृत्यु

सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा धेरैको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छन्।