भक्तपुर – आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि औपचारिक रुपमा भक्तपुर नगरमा सुरु भएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो ।
काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ । नाच प्रत्येक वर्ष माघ २ गते भक्तपुरको यही स्थानबाट प्रदर्शन सुरु हुने परम्परा छ ।
नाच प्रत्येक दिन फरकफरक टोलहरुमा प्रदर्शन गरिन्छ । नवदुर्गा गणका सदस्यहहरुका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ लगायतका २१ ठाउँमा प्रदर्शन गरिन्छन् ।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ । साथैे काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ । उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ ।
नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् । नाचको क्रममा बाजा बजाउनेसमेत गरिन्छ ।
परम्परागत वेषभूषामा देवगणको प्रतिकका रुपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ । साथै नाचको क्रममा घरपरिवारसँंग छुटिएर वस्नुपर्ने, खानामा बार्नुपर्नेलगायतको परम्परा छ ।
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाकेगु भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन । मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा….. गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।
इतिहासविद प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार बंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्ल (ई सं १५०५देखि १५१९ं)ले सञ्चालनमा ल्याएको हो । प्राडा श्रेष्ठका अनुसार नेपाल संवत ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ ।
