सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ –  काठमाडौँको सेतो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । केलटोलमा रहेको मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ हिजो विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने गरिन्छ । महास्नानको लागि सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा छ । महास्नानको लागि शोभा भगवतीस्थित निर्मल तीर्थबाट कलशार्चन पूजा गरी त्यहाँबाट विभिन्न पाठ– स्तोत्र पढ्दै जल ल्याउने गरिन्छ ।

९ वटा कलशमा जल लिएर फर्कँदा, ठाउँ–ठाउँमा पराल जम्मा गरी आगो तपाउने चलन पनि रहेको छ । यसरी आगो किन बालिन्छ भन्ने कुरामा यकिन तथ्य नभए तापनि, तत्कालीन समयमा नदीबाट फर्किदा चिसो हुने तथा रातको समय भएकोले जनावरहरू आउन सक्ने हुनाले ठाउँ– ठाउँमा परालको मुस्लो बाली ठुलो आगो बाल्ने गरेको जनश्रुति रहेको छ ।

महास्नानको समयमा जिवितदेवी कुमारीले पनि अवलोकन गर्न आउने परम्परा छ। महास्नान पश्चात् सेतो मछिन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपेर अर्कै स्थानमा राखिन्छ र रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ ।

महानस्नान र मूर्तिको रगंरोगन पछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई दशकर्म विधि गरी पुनः मन्दिरमा स्थापित गरिन्छ।