नेपालभाषा तथा नेपालकै काब्य जगतमा एक महत्वपूर्ण खम्बा जनकवि दुर्गालाल श्रेष्ठको काब्य जति लोकप्रिय तथा प्रख्यात छ, त्यति नै वहाँको हस्तलिपि/ लेखाई पनि उत्तिकै मनमोहक तथा सुन्दर छ । यही कुरालाई उजागर गर्न हिजो ने.सं. ११४५ बछलागाः एकादसि, शुक्रबार (२०८२/१/९)का दिन नेपालभाषा मंकाः खलःको भवन, विजेश्वरीमा दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा दुर्गालाल श्रेष्ठको हस्तलिपिमा दुर्गालाल फन्ट बनाई सार्वजनीकरण गरिएको छ ।
काठमाण्डौं महानगर पालिकाका उपमेयर सुनिता डंगोलले एक कार्यक्रमका बिच उक्त दुर्गालाल श्रेष्ठ फन्ट टाइप गरी सार्वजनीकरण गर्नुभएको हो । यसै क्रममा उपमेयर डंगोलले दुर्गालाल तथा वहाँको कविताबारे आफ्नो सारगर्भित मन्तब्य राख्नुहुँदै आफूले सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभएको छ । दुर्गालाल साहित्य प्रतिष्ठानका अध्यक्ष महेन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा फन्टका निर्माता आनन्द महर्जनले उक्त फन्ट निर्माण तथा फन्टको बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सुरुमा प्रतिष्ठानका सदस्य पवित्र कसाःले प्रतिष्ठान तथा दुर्गालाल श्रेष्ठ फन्टका विषयमा प्रकाश पार्नु हुँदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य पौभाः साय्मिले नेपालभाषा एक सुन्दर, सरल तथा मनमोहक भाषा भएको तथा यसको नमूनाको रुपमा दुर्गालालको काब्यलाई लिन सकिने र वहाँको काब्य मात्र होइन वहाँको हस्तलिपि पनि त्यत्तिकै सुन्दर र मनमोहक भएको कुरा राख्नुहुँदै हामीले पनि यही कुरा सिक्नुपर्ने तथा साहित्य सिर्जना गर्दा सुद्धासुद्धि तथा सरल साहित्यको सिर्जनामा ध्यानदिनु पर्ने कुरामा जोड दिनुभयो ।
