काठमाडौं । युरोपेली संसद्का दर्जनौँ सांसदहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन सुरु गर्न समर्थन जुटाइरहेका छन्।
उनीहरूका अनुसार अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले यसअघि रातो कार्ड पाएको भए पनि उनलाई खेल्न अनुमति दिने निर्णयमा इन्फान्टिनोको संलग्नता रहेको हुनसक्छ।
बालोगनलाई जुलाई १ मा बोस्निया हर्जगोभिनाविरुद्ध अमेरिकाको जितका क्रममा रातो कार्ड देखाइएको थियो। सामान्यतया यस्तो अवस्थामा खेलाडी आफ्नो टोलीको अर्को खेलमा खेल्न अयोग्य हुन्छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ वर्षीय स्ट्राइकर बालोगनको पक्षमा इन्फान्टिनोसँग हस्तक्षेप गरेपछि फिफाले सोमबार उनको एक खेलको प्रतिबन्ध हटाएको थियो।
युरोपेली संसद्का सांसद ब्यारी एन्ड्र्युज, लारा वोल्टर्स र निल्स फुग्लसाङले संयुक्त विज्ञप्ति जारी गर्दै फिफाको निर्णयलाई “प्रतियोगिताकै बीचमा रातो कार्ड निलम्बनसम्बन्धी नियम परिवर्तन गर्ने लज्जास्पद र न्यायको विकृति” भएको बताएका छन्।
“फेरि एकपटक हामीले इन्फान्टिनो र फिफालाई ट्रम्प प्रशासनको मागसामु झुकेको देख्यौँ,” विज्ञप्तिमा भनिएको छ।
सांसदहरूले ईयू सदस्य राष्ट्रका राष्ट्रिय फुटबल संघहरूलाई फिफा एथिक्स कमिटीमार्फत इन्फान्टिनोमाथि छानबिनका लागि पहल गर्न आग्रह गरेका छन्।
उनीहरूले निलम्बन हटाउने निर्णयमा ट्रम्प प्रशासनको दबाब कारक थियो कि थिएन भन्ने विषयमा छानबिन गर्न माग गरेका छन्।
साथै, ट्रम्पलाई फिफा पीस प्राइज प्रदान गर्ने निर्णयजस्ता “राजनीतिक तटस्थताका सम्भावित अन्य उल्लंघन” पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनीहरूको भनाइ छ।
फिफाले भने निलम्बन हटाउने निर्णय अनुशासन समितिको भएको जनाएको छ।
सांसदहरूका अनुसार हालसम्म ३५ जना सहकर्मी सांसदहरूले उक्त पत्रमा हस्ताक्षर गरिसकेका छन्।
“खेलको सौन्दर्य भनेकै यो निष्पक्ष र पारदर्शी नियममा आधारित हुनु हो। जब इन्फान्टिनोले कसले खेल्न पाउने भन्ने निर्णयमा राजनीतिक दबाबलाई असर गर्न दिन्छन्, तब निष्पक्षताको भावना नै हराएर जान्छ,” उनीहरूले भने।
