विश्वकपमा आजबाट सुरु हुँदै क्वाटरपाइनलका खेल, फ्रान्सविरुद्ध मोरक्को कति बलियो?

मोरक्कोले गत संस्करण जस्तै यो पटक पनि आफ्नो उत्कृष्ट टिम गेम र उत्कृष्ट फुटबल शैलीका साथ क्वाटरफाइनल यात्रा तय गर्‍यो। सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्स सँग २-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो पटक एक स्टेज अगाडि साविक उपविजेताको सामना गर्दैछ।

अमेरिकाको बोस्टन नजिकै रहेको फक्सबरो स्टेडियममा बिहीबार हुने फिफा विश्वकप क्वाटरपाइनलमा फ्रान्स र मोरक्को भिड्दै गर्दा यसलाई २०२२ को पुनरावृतका रुपमा हेरिएको छ। मोरक्कोलाई हराएर फ्रान्स फाइनलमा पुगे पनि अर्जेन्टिनासँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।

यसपटक पनि फ्रान्सलाई उपाधिको बलियो दाबेदार मानिएको छ। प्रतियोगिताभर आकर्षक र आक्रामक फुटबल खेलेको फ्रान्सले अन्तिम १६ सम्मको यात्रा प्रभावशाली बनाएको छ। यद्यपि नकआउट चरणको दोस्रो खेलमा पाराग्वेलाई हराउन भने निकै संघर्ष गर्नुपरेपछि फ्रान्सलाई हराउनै नसकिने टोलीको छविमा धक्का लागेको छ।

केलियन एम्बाप्पेको पेनाल्टी गोलको मद्दतमा फ्रान्सले कठिन १-० को जित निकालेको थियो। त्यसैले स्वभाविक मानसिक दबाब फ्रान्सलाई भएको मानिन्छ। अर्को तर्फ मोरक्कोले अन्तिम १६ मा क्यानडामाथि ३-० को प्रभावशाली जित निकाल्दै आफ्नो लय कायम राखेको छ। समूह चरणमा ब्राजिलसँग बराबरी खेल्दै हैटी र स्कटल्यान्डलाई सहज रूपमा पराजित गरेको मोरक्को अहिले आत्मविश्वासले भरिएको टोलीका रूपमा मैदान उत्रने छ।

फ्रान्स र मोरक्कोबीचको विशेष इतिहास
कतार विश्वकप २०२२ मा मोरक्कोको ऐतिहासिक यात्रालाई फ्रान्सले सेमिफाइनलमा रोकिदिएको थियो। चार वर्षपछि फेरि दुवै टोली आमनेसामने हुँदैछन्। यसबीच मोरक्को विश्व फुटबलको उदाउँदो शक्तिका रूपमा स्थापित भइसकेको छ। टोलीका प्रशिक्षक मोहम्मद औहबीले भने,’हामी अब कसैका लागि आश्चर्यको टोली होइनौं। यो हाम्रो लागि गर्वको विषय हो।’

उनले थपे, ‘यो सफलताको सुरुआत मात्र हो। हामी आगामी धेरै वर्षसम्म यस्तै प्रदर्शन दोहोर्या उन चाहन्छौं।’ औहबीले फ्रान्ससँगको खेल बदला लिनका लागि नभइ अघि बढ्दै समर्थकलाई गौरुबपूर्ण समय निरन्तरता दिन चाहेको बताए। उनले भने,’हामी सकेसम्म धेरै अघि बढ्न र आफ्ना समर्थकलाई गौरवान्वित गराउन चाहन्छौं।’

यद्यपि सन् २०२२ को हारको बदला लिने अवसर र पूर्वऔपनिवेशिक शासक फ्रान्सलाई पराजित गर्ने सम्भावनाले मोरक्कोलाई थप प्रेरणा दिने निश्चित छ। २० औं शताब्दीमा मोरक्को लामो समयसम्म फ्रान्सको उपनिवेश थियो। अहिले पनि फ्रान्समा सात लाखभन्दा बढी मोरक्केली मूलका नागरिक बसोबास गर्छन्।

एम्बाप्पेलाई रोक्नु मोरक्कोका लागि सबैभन्दा ठूलो चुनौती
फ्रान्सको आक्रमणपंक्ति विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ। केलियन एम्बाप्पेले यस विश्वकपमा सात गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा लियोनेल मेसी भन्दा एक गोलले पछि छन् भने अर्लिङ हालान्डसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

यसबाहेक बालोन डी’ओर विजेता ओस्मान डेम्बेले पनि उत्कृष्ट लयमा छन्। उनले समूह चरणमा नर्वेविरुद्ध ह्याट्रिक गरेका थिए। फ्रान्ससँग अन्य धेरै विश्वस्तरीय आक्रमणकारी खेलाडी पनि छन्। तर मोरक्कोको बलियो पक्ष भनेको संगठित र अनुशासित रक्षापंक्ति हो। पाराग्वेले फ्रान्सलाई निकै समयसम्म गोल गर्न नदिएझैं मोरक्कोले पनि फ्रान्सको आक्रमण रोक्ने विश्वास लिएको छ।
गोलरक्षक यासिन बोनु, विश्वकै उत्कृष्ट राइट-ब्याकमध्येका अशरफ हाकिमी, भरपर्दा सेन्टर-ब्याकहरू तथा अथक मेहनत गर्ने मिडफिल्ड मोरक्कोका मुख्य हतियार हुन्।

फ्रान्स संघर्षपूर्ण अवस्थामा पनि उठ्न सक्छ
विश्वकपका पहिलो चार खेलमा फ्रान्सले आकर्षक आक्रमणमार्फत सबैको मन जितेको थियो। तर पाराग्वेविरुद्धको कठिन प्रतिस्पर्धाले फ्रान्स सुन्दर फुटबल मात्र होइन, संघर्षपूर्ण खेल पनि खेल्न सक्ने टोली भएको प्रमाणित गर्‍यो।

पाराग्वेले लगातार दबाब र उक्साहट सिर्जना गरे पनि फ्रान्स संयमित रह्यो। जर्मनी पाराग्वेसँग अन्तिम ३२ बाटै बाहिरिँदा फ्रान्स भने ९० मिनेटमै जित निकाल्न सफल भयो। अर्जेन्टिनाले केप भर्डेलाई हराउन अतिरिक्त समय खेल्नुपरेको थियो। रेफ्री इल्गिज तान्ताशेभले पाराग्वेका कुनै पनि खेलाडीलाई पहेँलो कार्ड नदिए पनि फ्रान्सले त्यसलाई बहाना बनाएन र क्वार्टरफाइनलको यात्रा तय गर्‍यो।

दोस्रो हाफमा मैदान छिरेका रायान चेर्कीले भने, ‘हामीले सबैलाई सम्झाइदियौं कि फ्रान्स केवल राम्रो फुटबल खेल्ने टोली मात्र होइन। जो कोही हामीसँग युद्ध गर्न चाहन्छ भने, यस्तै प्रतिरोधको सामना गर्न तयार हुनुपर्छ।’

प्रशिक्षक परिवर्तनले फेरि चम्कियो मोरक्को
चार वर्षअघि कतार विश्वकपअघि प्रतियोगिता सुरु हुन तीन महिनाअघि मात्र प्रशिक्षक परिवर्तन गरेर पनि मोरक्को सेमिफाइनलसम्म पुगेको थियो। यसपटक पनि क्यानडा, मेक्सिको र अमेरिकामा भइरहेको विश्वकपअघि मोरक्कोले प्रशिक्षक परिवर्तन गर्‍यो। अफ्रिका कप अफ नेसन्सपछि वालिद रेग्रागुईले पद छोडेपछि मोहम्मद औहबी मुख्य प्रशिक्षक बनेका थिए।

औहबीले टोलीको रणनीतिमा महत्वपूर्ण परिवर्तन गरे। परम्परागत सेन्टर-फरवार्डको सट्टा इस्माइल साइबारीलाई ‘फल्स नाइन’ भूमिकामा उतारे भने मिडफिल्डर अजेद्दिन ओउनाहीलाई अझ आक्रामक भूमिकामा खेले।

यसको प्रभाव तुरुन्तै देखियो। ओउनाहीले क्यानडाविरुद्ध दुई गोल गर्दै मोरक्कोलाई क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनाएका थिए।

फ्रान्सका खेलाडीलाई निलम्बनको डर
फ्रान्सका ब्राड्ली बारकोला, मानु कोने र माइकल ओलिसेले अघिल्लो खेलमा पहेँलो कार्ड पाएका थिए। मोरक्कोविरुद्ध पनि उनीहरूले अर्को पहेँलो कार्ड पाए सेमिफाइनलमा खेल्न पाउने छैनन्।

बारकोला निलम्बित भए डिजिरे डुए उनको विकल्प बन्न सक्छन्। पाराग्वेविरुद्ध फ्रान्सले पाएको पेनाल्टी पनि डुएकै प्रयासबाट आएको थियो। तर कोने अनुपस्थित भए प्रशिक्षक डिडिएर डेसाम्प्सले मिडफिल्डमा नयाँ विकल्प खोज्नुपर्ने छ। त्यस्तै प्रतियोगिताभर फ्रान्सका उत्कृष्ट खेलाडीमध्ये रहेका माइकल ओलिसे निलम्बित भए त्यो फ्रान्सका लागि ठूलो झट्का हुनेछ।

त्यसैले फ्रान्सका खेलाडीहरु मोरक्कोविरुद्ध उत्रिँदै गर्दा स्वभाविक रुपमा कार्डको भय मनमा राखेर मैदानमा उत्रिने छन्। यसले टोलीलाई दबाबमा राख्न सक्ने जोखिम रहेको छ।

ओप्टा भन्छ- फ्रान्सको सहज जित
ओप्टा सुपर कम्प्युटरले विभिन्न आधारमा जारी विश्वकपको अनुमान गर्ने गर्छ। उसले गोल संख्याको भन्दा पनि प्रतिशतका आधारमा कस्को जित्ने सम्भावना कति भनेर प्रक्षेपण गर्ने गरेको छ। यस्तोमा उसले फ्रान्सको जित्ने सम्भावनालाई ६१.७ प्रतिशत देखाएको छ।

मोरक्कोको जित्ने सम्भावना भने केवल १५.६ प्रतिशत मात्र छ। यस्तोमा यी दुई बिचको खेल बराबरी हुने सम्भावना २२.७ प्रतिशत रहेको छ।