काठमाडौँ, चैत २०८२ — नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को औपचारिक घोषणा गरिएको छ। सिटी सेन्टरमा आयोजित एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस अवार्डको पाँचौँ संस्करण सार्वजनिक गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि दिनेश डिसीले पछिल्लो समय सामाजिक सञ्जालको ‘भ्यूज’ लाई मात्र सफलताको मापन मान्ने प्रवृत्तिप्रति टिप्पणी गर्नुभयो। उहाँका अनुसार: “केवल ‘भ्यूज’ ले मात्र सिर्जनाको वास्तविक मूल्य निर्धारण गर्दैन साथै अवार्ड वितरणमा नैतिकता र पारदर्शिता अनिवार्य हुनुपर्छ। नेपालभाषा राष्ट्रको मौलिक पहिचान भएकाले यसका सर्जकलाई राज्यस्तरबाटै प्रोत्साहन हुनुपर्नेमा उहाँको जोड थियो।
आयोजकका अनुसार यस पटक अवार्डलाई थप निष्पक्ष बनाउन छनोट प्रक्रियामा ‘६०:४०’ को नियम लागू गरिएको छ जसमा ६० प्रतिशत: विषयविज्ञ निर्णायक मण्डलको मूल्याङ्कन र ४० प्रतिशत: सार्वजनिक मत बाट हुने छ । यस प्रक्रियाले लोकप्रिय र गुणस्तरीय दुवै पक्षलाई समेट्ने विश्वास प्रबन्ध निर्देशक नरेशवीर शाक्यले व्यक्त गर्नुभयो।
पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६मा लाइफटाइम एचिभमेन्ट अवार्ड: नेपालभाषा, साहित्य र मनोरञ्जन क्षेत्रमा जीवन पर्यन्त योगदान दिने एक विशिष्ट सर्जकलाई सम्मान गरिने। आवेदन समयसीमा: इच्छुक सर्जकहरूले आफ्ना कृतिहरू २०८२ चैत २१ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म दर्ता पर्ने छ।
कार्यक्रममा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले नेपालभाषा साहित्य र मनोरञ्जन क्षेत्रको विकासमा आफ्नो संस्था निरन्तर लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालभाषा मनोरञ्जन क्षेत्रमा सक्रिय सर्जकहरूको योगदानलाई सम्मान गर्नकै लागि हामीले यो यात्रा जारी राखेका हौँ।”
साथै निर्देशक दर्शन वीर शाक्यले कलाकारहरूलाई प्रोत्साहित गर्न यो अवार्ड महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले थप्नुभयो, “भाषा र कलाको जगेर्नाका लागि सर्जकहरू आफैँ पनि आफ्ना सिर्जनाको प्रचारप्रसारमा थप सक्रिय हुनुपर्ने आवश्यकता छ।”
यसै बीच वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले अवार्डको गरिमा जोगाउन तीन वर्षको लामो अन्तराललाई कम गर्दै नियमितता दिनुपर्ने सुझाव दिनुभयो।
अवार्ड तीन वर्षको प्रतीक्षापछि फर्किएको यो अवार्डले नेपालभाषाका चलचित्र, म्युजिक भिडियो र सङ्गीतकर्मीहरूमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। पेज थ्रीको यो प्रयासले ओझेलमा परेका मौलिक प्रतिभाहरूलाई मूलधारमा ल्याउन सेतुको काम गर्नेछ।
