काठमाडौँ — गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण मानिने कल्याण विभागको प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को हालै सम्पन्न बैठकले सन् २०२५–२०२७ कार्यकालका लागि उहाँको जिम्मेवारी अनुमोदन गरेको हो।
एनआरएनएको मेरुदण्डका रूपमा हेरिने यस विभागमार्फत विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण गर्ने लक्ष्य राखिएको छ। जिम्मेवारी सम्हाल्दै राईले डायस्पोरामा रहेका नेपालीहरूका ज्वलन्त समस्यालाई समाधान गर्न स्पष्ट कार्ययोजना अघि सार्नुभएको छ।
उहाँले आफ्नो कार्यकालका चार प्रमुख प्राथमिकता निर्धारण गर्नुभएको छ—नेपाली नागरिकताको निरन्तरता (CNC) सुनिश्चित गर्ने, गोर्खा सैनिक र तिनका परिवारका समस्याको समाधानमा नेतृत्व गर्ने, विदेशमा रहेका नेपालीहरूलाई कानुनी तथा प्रशासनिक सहयोग प्रदान गर्ने प्रभावकारी संयन्त्र विकास गर्ने, तथा नेपाली मूलका व्यक्तिहरू (PNOs) को पहिचान र अधिकार संरक्षण गर्ने।
“विश्वभर रहेका नेपाली डायस्पोराका मुद्दाहरू समाधान गर्न म सक्रिय रूपमा लाग्नेछु,” राईले बताउनुभयो। “क्षेत्रीय संयोजकहरू र सरोकारवालासँग सहकार्य गर्दै हामी विदेशमा रहेका नेपालीहरूको आवाजलाई थप सशक्त बनाउनेछौँ।”
उहाँले एनआरएनएको मूल मन्त्र “नेपालीका लागि, नेपालीद्वारा” लाई आत्मसात् गर्दै संगठनलाई अझ सेवा–मुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै नेतृत्वले आफूलाई दिएको विश्वासप्रति आभार प्रकट गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्ने धारणा राख्नुभयो।
सक्रिय र जुझारु महिला नेतृत्वका रूपमा चिनिनुहुने राईको नियुक्तिले विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा दोस्रो पुस्ताका नेपालीहरूमा नयाँ आशा जगाएको छ। उहाँको नेतृत्वमा कल्याण विभाग अझ संगठित र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
