मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा दुईभन्दा बढी पटक पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
खेलपछि मुख्य प्रशिक्षक मोहम्मद उआहबीले मोरक्को अब विश्व फुटबलमा कुनै आश्चर्यजनक टोली नभई उपाधिका दाबेदारका रूपमा स्थापित भइसकेको बताए।
उनले भने,‘अब मोरक्कोलाई कसैले पनि सरप्राइज टोलीका रूपमा हेर्दैन। हामी विश्व फुटबलका मुख्य दाबेदारमध्ये एक बनिसकेका छौं। यो हाम्रो लागि गर्वको विषय हो र यो सफलताको सुरुआत मात्र हो। हामी अझ धेरै यस्ता उपलब्धि हासिल गर्न चाहन्छौं।’
सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को यसपटक पनि त्यही सफलतालाई निरन्तरता दिने लक्ष्यमा रहेको उनले बताए।
गोलरक्षक यासिन बोनुले पनि अफ्रिकी फुटबलप्रति गर्व व्यक्त गर्दै भने,‘हामी अफ्रिकाको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व गर्छौं। अफ्रिकामा प्रतिभाको कुनै कमी छैन र यो महादेश विश्व फुटबलको उच्च स्तरमा रहन योग्य छ।’
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा अजेद्दिन ओउनाहीले अच्राफ हाकिमीको फ्रिकिकलाई सदुपयोग गर्दै बक्सबाहिरबाट उत्कृष्ट प्रहारमार्फत मोरक्कोलाई अग्रता दिलाए।
८२औं मिनेटमा ब्राहिम डियाजको पासमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा सौफियान रहिमीले थप एक गोल गरेपछि मोरक्कोले ३–० को सहज जित दर्ता गर्यो।
अब मोरक्कोले क्वार्टरफाइनलमा पाराग्वे र फ्रान्सबीचको विजेतासँग बोस्टन स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। उता, सह–आयोजक क्यानडाको ऐतिहासिक यात्रा भने प्रि–क्वार्टरफाइनलमै टुंगिएको छ।
दक्षिण अफ्रिकालाई १–० ले हराउँदै पहिलो पटक नकआउट चरणको जित निकालेको क्यानडा विश्वकपमा तेस्रो सहभागितामै उल्लेखनीय प्रदर्शन गर्न सफल भएको थियो।
खेलपछि क्यानडाका प्रशिक्षक जेसी मार्सले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै भने,‘म उनीहरूप्रति गर्व गर्छु। आज हामीले विश्वका उत्कृष्ट टोलीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएका छौं। अब यही स्तरको प्रदर्शन लगातार ९० मिनेटसम्म कायम राख्नु चुनौती हो।’
मार्सले आफ्नो टोली खेलमा समग्र रूपमा मोरक्कोभन्दा राम्रो देखिएको दाबी गरे। तर‚ प्रशिक्षक उआहबीले त्यसको कडा प्रतिवाद गर्दै भने,‘क्यानडाले राम्रो तीव्रताका साथ खेल्यो। तर‚ ३–० ले पराजित भएपछि आफू राम्रो टोली भएको भन्न निकै साहस चाहिन्छ।’
क्यानडाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। ७८औं मिनेटमा जोनाथन डेभिडको फ्रिकिक क्रसबारमाथिबाट बाहिरियो भने त्यसलगत्तै ताजोन बुकाननको शक्तिशाली प्रहारलाई गोलरक्षक बोनुले उत्कृष्ट डाइभिङ सेभ गर्दै रोके।
क्यानडामा जन्मिएका तर मोरक्केली मूलका बोनुले खेलभर तीन उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे। क्यानडाले प्रतियोगिताभर चोटका कारण स्टार खेलाडी अल्फोन्सो डेभिसको पर्याप्त साथ पाउन सकेन।
ह्यामस्ट्रिङ समस्याका कारण उनी दक्षिण अफ्रिकाविरुद्धको खेलमा १५ मिनेट मैदान उत्रिएका थिए भने मोरक्कोविरुद्ध पूर्ण रूपमा अनुपस्थित रहे।
प्रशिक्षक मार्सले डेभिसको ह्यामस्ट्रिङमा समस्या कायम रहेकाले उनलाई खेलाउन नसकिएको जानकारी दिए। यो खेल सन् २०२२ को विश्वकपको समूह चरणको पुनःभेट पनि थियो, जहाँ मोरक्कोले क्यानडालाई २–१ ले हराएको थियो।
निकै प्रतिस्पर्धात्मक र शारीरिक खेलमा दुवै टोलीले समान चार–चार गरी कुल आठ पहेँलो कार्ड पाए। ४०औं मिनेटमा अच्राफ हाकिमीले रिची लारेयालाई धक्का दिएपछि दुवै खेलाडीबीच सामान्य विवाद भएको थियो र दुवैलाई पहेँलो कार्ड देखाइएको थियो।
यता, मोरक्काका मिडफिल्डर इस्माइल साइबारी २२औं मिनेटमै चोटका कारण मैदान छाड्न बाध्य भएका थिए।
