पछिल्लो २०२१ को युरो कपको फाइनलमा पराजित इंग्ल्यान्ड जारी युरो कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सलाई निर्धारित ९० मिनेटभित्रै २–१ ले पराजित गर्दै फाइनलमा स्थान तय गरेको हो । खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिन लागेका बेला इंग्ल्यान्डदले ९०औं मिनेटमा विजयी गोल हान्दै नेदरल्यान्ड्सको सपना खरानी पारिदियो भने आफू फाइनल प्रवेश गर्न सफल भयो । यससँगै इंग्ल्यान्ड लगातार दोस्रो संस्करण युरो कपको फाइनल पुग्न सफल भएको छ ।
रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले पहिला अग्रता लिए पनि खेल सकिँदा इंग्ल्यान्डले नतिजा आफ्नो पक्षमा निकाल्न सफल भयो । नेदरल्यान्ड्सका लागि खेल सुरु भएको सातौं मिनेटमै युवा खेलाडी जाभी सिमोन्सले शानदार गोल गरेर अग्रता दिलाएका थिए । तर १८औं मिनेटमै इंग्ल्यलान्ड खेलमा फर्कियो । बक्सभित्र ह्यारी केनमाथि फउल भएपछि भिएआर रिभ्यूमार्फत् इंग्ल्यान्डले पेनाल्टी पाएको थियो, जसमा ह्यारी केनले गोल गरेर टिमलाई खेलमा फर्काए । तर यो गोलका लागि पेनाल्टी दिने रेफ्रीको निर्णय विवादित रहेको छ । दुवै खेलाडीको ५०–५० ट्याकलमा इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।
१८ मिनेटभित्रै १–१ को बराबरी भएको खेलमा इंग्ल्यान्डका लागि ९०औं मिनेटमा सब्सिच्यूट खेलाडी ओलिई वाटकिन्सले गोल गरेर इंग्ल्यान्डको जित पक्का गरे । उनको गोलमा कोले पाल्मरले पास मिलाएका थिए । अब इंग्ल्यान्डले युरो कपको फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेन अघिल्लो दिन फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो । युरो कपको फाइनल खेल जुलाई १४ को मध्यराति हुने तालिका छ ।
