समिट अपार्टमेन्टबाट प्रभावितको समस्या सम्बोधन गर्न सर्वपक्षीय समिति गठन

ललितपुर – ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको रोहोबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष, होटल समिट र पीडित पक्षबीच भएको सर्वपक्षीय बैठकमा तत्काल राहात तथा पुनःस्र्थापना लगायतको सहमति भएको हो।

१२ बुँदे सहमतिमा चर्केका र भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने, भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने उल्लेख छ।

ललितपुर महानगरपालिकाको निर्देशनपछि निर्माणको काम रोकिएको छ ।यस्तै बैठकले तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन पीडकको पक्षबाट एक करोड रुपैयाँको ‘¥यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय पनि भएको छ।

यस्तै बैठकले प्रभावितहरुको समस्या तत्काल समाधानका लागि सहजिकरण गर्न ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ ।