रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत पर्ने “याकः मिसा भुज्या” आज बिहान श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ। हरेक वर्ष “नैक्या लुइगु” (नरिवल खसाल्ने) जात्राको भोलिपल्ट बिहान आयोजना हुने यस रथयात्रामा महिलाहरूले मात्र रथ तान्ने परम्परा रहिआएको छ।
किंवदन्तीअनुसार, परापूर्वकालमा बुंगः द्यः करुणामय (रातो मच्छिन्द्रनाथ) को जात्रा मनाइरहेका बेला एक्लो र असहाय महिलाको दुःख देखेर यो विशेष दिनको सुरुआत गरिएको बताइन्छ। सोही परम्परालाई निरन्तरता दिँदै आज पनि हिजो नरिवल खसालिएको स्थान देखि थति टोलसम्म महिलाहरूले मात्र रथ तानेका छन्।
यस दिन साना बालबालिकादेखि लिएर ज्येष्ठ महिलासम्मको सक्रिय सहभागिता देख्न पाइन्छ, जसले सामाजिक एकता र सांस्कृतिक निरन्तरता झल्काउँछ।
अब साईत हेरेर पश्चिम यात्रा, अर्थात् जावलाखेलतर्फको रथयात्राको मिति तय गरिनेछ। जावलाखेल रथयात्रा सुरु हुनुभन्दा चार दिन अगाडि “याकः मिसा” लाई पानेजु मार्फत फूल–प्रसाद चढाउन जाने प्रचलन छ। याकः मिसालाई रातो मच्छिन्द्रनाथ का जीवित प्रेमिकाको रूपमा पूजिने विश्वास रहिआएको छ।
यसरी “याकः मिसा भुज्या” ले धार्मिक आस्था, सांस्कृतिक मौलिकता र महिला सहभागिताको सशक्त सन्देश बोकेको छ।
