आज ४ बजेदेखि देशभर हावाहुरी सुरु हुने चेतावनी

काठमाडौँ – देशका विभिन्न भागमा हाल मध्यम वर्षा भइरहेका बेला आज दिउँसोदेखि नै तीव्र हावाहुरी चल्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक पूर्वानुमान जारी गर्दै बेलुका होइन, दिउँसो ४ बजेदेखि नै हावाहुरी सुरु हुन सक्ने जनाएको हो।

महाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पूर्वतर्फका म्याग्दी, कास्की, मनाङ, लमजुङ, गोरखा, तनहुँ, चितवन, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु र सङ्खुवासभाका केही स्थानमा अहिले वर्षा भइरहेको छ। यसैबीच सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकीको नवलपुर तथा बागमती प्रदेशको चितवन आसपासका जिल्लामा हावाहुरीको प्रभाव पर्ने सम्भावना रहेको छ।

त्यसैगरी मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङलगायत क्षेत्रमा पनि तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार यो अवस्था भोलि बिहान करिब ७ बजेसम्म कायम रहन सक्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीका कारण रुख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सर्वसाधारणलाई अनावश्यक बाहिर ननिस्कन, झ्यालढोका सुरक्षित राख्न तथा अग्ला रुख र बिजुलीका तारमुनि नबस्न अनुरोध गरिएको छ।

उता, प्रतिकूल मौसमका कारण कृषि क्षेत्रमा पनि असर पर्ने देखिएको छ। कृषि विभागले किसानलाई खेतमा काटेर राखिएको गहुँ तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गर्दै भण्डारण गर्दा नीम, बकाइनो तथा तितेपातीका सुक्खा पात प्रयोग गरी किराबाट जोगाउन सुझाव दिएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा हावाहुरी अझ तीव्र हुन सक्ने अनुमान गरिएको छ।