थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर संरचना भत्काएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। लामो समयदेखि नदी किनार ओगटेर बसेका बस्तीहरू हटाउने काठमाडौँ महानगरपालिका र संघीय सरकारको संयुक्त प्रयासपछि विस्थापित भएका परिवारको अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन्।
अवलोकनका क्रममा सुकुम्बासीहरूले डा. भट्टराईलाई घेरेर आफ्नो गुनासो र आक्रोश पोखेका थिए। त्यसक्रममा केही स्थानीयले विगतलाई सम्झिँदै भने, “तपाईं प्रधानमन्त्री हुँदा जुन कुराको सुरुवात गर्नुभएको थियो, आज बालेन्द्र शाहले त्यही पूरा गरे। तपाईंले चाहेको जस्तै गरी हामीलाई यहाँबाट हटाइयो।”
भट्टराईले आफ्नो कार्यकाल २०६८ सालमा पनि थापाथलीकै सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गरेका थिए। त्यतिबेला पनि उनी निकै विवादमा तानिएका थिए। अहिले उनकै पदचिह्न पछ्याउँदै बालेन नेतृत्वको सरकारले कडा सुरक्षा घेराबीच बस्ती खाली गराएको छ।
बस्तीको भग्नावशेषमा आफ्नो सरसामान खोजिरहेका पीडितहरूसँग कुरा गर्दै डा. भट्टराईले विकल्प बिना डोजर चलाउनु मानवीय दृष्टिले गलत भएको बताए। उनले भने, “सुकुम्बासी समस्याको समाधान हुनुपर्छ, तर यसरी विकल्प नै नदिई नागरिकलाई सडकमा पुर्याउनु राज्यको दायित्व होइन। वास्तविक र नक्कली सुकुम्बासी छुट्याएर उचित व्यवस्थापन गरेपछि मात्र हटाउनुपर्थ्यो।”
उनले इचंगुनारायणमा निर्माण गरिएका अपार्टमेन्टहरू प्रयोगमा नआउनु र सुकुम्बासीहरूलाई त्यहाँ सार्न नसक्नु राज्यको कमजोरी भएको टिप्पणी समेत गरे।
यता सरकारले भने थापाथली बस्तीमा बस्ने करिब ९० प्रतिशत मानिसहरूको अन्य ठाउँमा घरजग्गा रहेको तथ्य फेला परेको दाबी गरेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार अधिकांश व्यक्तिहरूको नाममा बाहिर जग्गा रहेको पाइएपछि सरकारले “वास्तविक सुकुम्बासी” लाई मात्र संरक्षण दिने नीति लिएको छ।
अहिले उक्त क्षेत्रमा कडा सुरक्षा पहरा दिइएको छ भने बागमती करिडोर सौन्दर्यकरणको कामलाई तीव्रता दिने तयारी गरिएको छ।
