ललितपुर – ललितपुरको पाटनमा आज दीप यात्रा मतयाः शुरु भएको छ । मतया बिहान ४ बजे सौगलबाट शुरु भएको हो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री शहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ ।
विशेष गरेर बौद्ध धर्मालम्बीले वर्षभरीमा दिवंगत भएका आफ्ना आफन्तजनको सम्झनामा धान , चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिदै हातमा दीप लिएर मतयाः जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतयाः भनिएको हो । सौगलबाट शुरु भएको मतयाः चिकंबहिल, टंगल, लगनखेल, हखबहाल, पूर्णचण्डी, बुबहाल, गाःबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक, नागबहाल, कोबहाल भएर सौगलमा पुगेर सकिनेछ । यात्राको क्रममा पाटनमा रहेको पुल्चोक, लगनखेल, ग्वार्कोको चारवटा थुर घुम्नु पर्दछ ।

आज दिनभरी नैं पाटनमा विशेष चहलपहल हुन्छ । यात्रामा सरिक भएकाहरुलाई पानी, जुस, प्राथमिक उपचार सेवा दिनको लागि धेरै संख्यामा स्थानीय बासिन्दा जुट्ने भएकोले आज दिनभरी नै पाटनमा यातायात आवागमन प्रभावित हुनेछ ।
पाटनको मतया मंगलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर संचालन गर्ने गर्दछ । यसपालीको मतया सौगल टोलले संचालन गरेको छ ।

मतयाःको अर्को आकर्षण भनेको नौबाजाको प्रदर्शन पनि हो । मतयाःको रुटमा परम्परागत धाः, दम्वःखिं , न्येकू लगायतका नौबाजा बजाएर जाने चलन छ । बाजा समूहले मंगलबजारको कात्तिक डबलीमा आज विशेष कार्यक्रम गर्ने गर्दछ । मतयाःको तयारी स्वरुप पालो परेको टोलले एक वर्षअघि देखि नै आफ्नो टोलका युवा पुस्तालाई परम्परागत बाजाको प्रशिक्षण दिने गर्दछ ।
पाटनमा बाहेक मतयाः बुंगमती, खोकना, थैव लगायतका ठाँउमा पनि संचालन गरिन्छ । मतयाः लिच्छवी राजा बालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।


तस्विरः सुरेन शाक्य
