इरानको व्यापारी जहाज नियन्त्रणमा लिएपछि अमेरिका–इरान तनाव उत्कर्षमा, मध्यपूर्वमा सुरक्षा चुनौती थपियो

अमेरिकी सेनाले इरानको झण्डा बोकेको एक व्यापारी जहाज ‘टाउसका’ लाई ओमानको खाडी नजिक नियन्त्रणमा लिएको छ।

इरानको चाबहार बन्दरगाह नजिक भएको यो घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार बारम्बार दिएको चेतावनीलाई बेवास्ता गर्दै समुद्री नाकाबन्दीको नियम उल्लंघन गरेको आरोपमा जहाजलाई नियन्त्रणमा लिइएको हो।

सुरक्षा स्रोतहरूका अनुसार उक्त जहाजमा सैन्य र नागरिक दुवै प्रयोजनमा प्रयोग हुन सक्ने ‘डुअल-यूज’ सामग्रीहरू रहेको आशंका गरिएको छ।

धातु, पाइप र विभिन्न इलेक्ट्रोनिक पाटपुर्जाहरू बोकेको सो जहाज इरानको सरकारी स्वामित्वमा रहेको इस्लामिक रिपब्लिक अफ इरान शिपिङ लाइन्स (IRISL) को हो, जुन कम्पनी यसअघि नै अमेरिकी प्रतिबन्धको घेरामा छ।

यो जहाज चीनका विभिन्न बन्दरगाह हुँदै मलेसिया भएर इरानतर्फ जाँदै थियो।

यस घटनालाई इरानले भने कडा शब्दमा निन्दा गरेको छ। इरानी विदेश मन्त्रालयले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र अवैध कार्यको संज्ञा दिएको छ। त्यस्तै, इरानी सेनाले यसलाई ‘व्यापारी जहाजमाथिको समुद्री डकैती’ भन्दै कडा जवाफ दिने चेतावनी दिएको छ।

विश्लेषकहरूका अनुसार यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउने र अमेरिका–इरानबीचको बढ्दो तनावलाई अझ चर्काउने निश्चित छ।