आजबाट मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

गए रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । ​

 

मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउने छैनन् । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

 

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

 

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

 

के-के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

– एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

– अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।