ललितपुर – रातो मच्छिन्द्रनाथलाई आज शुक्रबार रथारोहण गरिदैछ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याइनेछ । त्यसपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरेपछि दिउँसो ४ बजे पछि पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई रथारोहण गरिनेछ ।
काठमाडौं उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव , तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको जनविश्वास छ । त्यहि प्रतिक स्वरुप हरेक वर्ष कटुवाल दहबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने गरिन्छ ।
आज दिउँसो रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिने पुजारी विनोद बज्राचार्यले बताउनु भयो ।
यसैविच, मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा पुगेको छ । बिहानै देखि यवाल गुथियारहरुले रथमा बेतले बाध्ने काम गरिरहेका छन् ।
आज मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झयाल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने उहाँले बताउनु भयो । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटा लगाएर रथको अगाडि बस्ने जनविश्वास छ ।
आज रथारोहण गरेर ११ गते सोमबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ।
यता, रातो मच्छिन्द्रनाथको रथको अघिपछि लगाएर तानिने मीननाथको रथमा यवाल गुथियारहरुले बेतले बाध्ने काम गरिरहेका छन् । मच्छिन्द्रनाथको रथ पुल्चोकमा बनाइन्छ भने मीननाथको रथ टंगलमा बनाउने गरिन्छ ।
