बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।

बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् पर्व दशैँजस्तै लाग्ने गर्दछ ।
हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ ।

बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताउनु भयो। उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुर्याउने प्रचलन छ।

यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनु भयो । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँ–ठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ ।

बनेपा नगरपालिकाले बर्सेनि जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ ।